झापा — झापाको कनकाई नगरपालिका–५ नारायणदल चोकमा डेरा गरी बस्ने ताप्लेजुङका ३९ वर्षीय लालबहादुर सार्कीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार, लालबहादुरले श्रीमती ४० वर्षीया मनिषाको हत्या गरेपछि आफ्नो घाँटी आफैं रेटेर आत्महत्या प्रयास गरेका छन् । गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुबीच पारिवारिक कुराका कारण मध्यराति वादविवाद भएको थियो । विवाद उग्र बनेपछि लालबहादुरले मनिषालाई खुकुरी प्रहार गरेका थिए ।
'मनिषाले पूर्व पतिसँग फोनमा बोलेको निहुँमा विवाद भइ उनको हत्या भएको देखिन्छ', प्रहरी स्रोतले भनेको छ ।
घाइतेका दाजु सुरेन्द्र सार्कीका अनुसार लालबहादुरलाई उपचारका लागि अस्पताल भर्ना गरिए पनि रकम अभावमा उपचार सुरु भएको छैन । 'अस्पतालले पैसा धेरै लाग्छ भनेको छ', उनले फोनमा भने, 'तेत्रो पैसा हामीसँग छैन, कहाँबाट जुटाउने थाहा छैन ।'
