उद्योग वाणिज्य संघ ताप्लेजुङमा एमाले र कांग्रेसले बाँडे सिट

चैत्र ११, २०८१

आनन्द गौतम

UML and Congress shared the seats in Taplejung Chamber of Commerce and Industry

ताप्लेजुङ — उद्योग वाणिज्य संघ ताप्लेजुङको निर्वाचनका लागि सत्तासीन दल कांग्रेस र एमाले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् । दुई पार्टीका जिल्ला नेताले पद बाँडफाँटसमेत गरेका छन् । एमाले कार्यवाहक अध्यक्ष दिपेन पोमु र कांग्रेस उपसभापति डिल्लीरमण बरालले गरेको सहमतिअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र आठजना सदस्य एमालेले पाउनेछ ।

प्रथम, तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य कांग्रेसले पाउने गरी सहमति भएको छ । उद्योग वाणिज्य संघमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १४ जना सदस्य निर्वाचित हुने प्रावधान छ । एक वरिष्ठ उपाध्यक्ष र चार सदस्य निर्वाचित अध्यक्षले चयन गर्नेछन् ।

एमालेको भागमा परेको अध्यक्षका लागि वर्तमान कोषाध्यक्ष विकास गौतम अध्यक्षको उम्मेदार बन्ने भएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले अध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् । दावा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सहसंयोजक पनि हुन् ।

निर्वाचन भने १६ गतेलाई तोकिएको छ । उद्योग वाणिज्य संघमा ६ सय ३४ मतदाता रहेका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully