चारो पकाउँदा उम्किएको आगोले घर जल्यो

चैत्र ११, २०८१

आनन्द गौतम

The fire that escaped while cooking the fodder burnt the house

ताप्लेजुङ — मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलमा चारो पकाउँदा उम्किएको आगोले घर जलाएको छ । स्थानीय सन्तोष तामाङको घर जल्दा छ लाख बढीको क्षति भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आगलागीबाट घरभित्रको खाद्यान्न, सुनका गरगहाना, ७० हजार नगद रकम र अन्य सामग्रीसमेत जलेर नष्ट भएको छ । आगलागीबाट काठ र जस्तापाताको दुई तले घर जलेको हो ।

पशु चौपायाका लागि खोले (चारो) पकाउने चुल्होबाट आगो सल्किएको प्रहरीले जनाएको छ । चुल्हो घर नजिकै रहेको थियो । प्रहरीले आगो बालेपछि तत्काल निभाउन, हावाले लप्का उडाउने ठाउँमा आगो नबाल्न आग्रह गरेको छ । प्रहरी नायब उपरीक्षक रवि रावल गाउँका चौकीबाट टोलटोलमा यो सन्देश प्रवाह गरिरहेको बताउँछन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully