पाँचथर — इलामको माई नगरपालिका–४ मा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् ।बलात्कारको घटना सार्वजनिक हुन र पीडितलाई अदालत जान रोक्ने उद्देश्यले ३ लाख रुपैयाँ नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, उनका ५८ वर्षीय बुबा केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पीडकका बुबा केदारनाथ गिरी र छिमेकी तुलाधर अर्याललाई आ–आफ्ना घर तथा पीडक केशव गिरी र उनका काका नारायण गिरीलाई इलाम र झापाको सीमावर्ती क्षेत्रमा लुकेर बसेका ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला अनुसन्धान सुरु गरिएको प्रहरीले प्रहरीले जनाएको छ ।
माई २ को सितलीस्थित चिया बगानमा माई नगरपालिका–२ का २४ वर्षीय केशव गिरीले चैत ६ गते वडा नं ४ की एक १३ वर्षीया बालिकालाई प्रलोभनमा पार्नुका साथै डर, धाक देखाएर बलात्कर गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडक फरार भएका थिए ।
त्यही बेला छिमेकी अर्यालले पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ । प्रहरीले उक्त रकम अनुसन्धानका क्रममा पीडितकी आमाबाट बरामद गरेको छ ।
आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
