खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई राँगा वितरण गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउन राँगा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेटबाट तराईबाट खरिद गरेर ल्याइएका करिब दुई सय राँगा वितरण गरिएको नगरपालिकाका उपप्रमुख विसन राईले बताए । उनका अनुसार नगरको ७५ प्रतिशत र किसानको २५ प्रतिशत गरी ६२ लाखको लागतमा उक्त राँगा वितरण गरिएको हो ।
यसअन्तर्गत वडा नं ३ बाम्राङमा १६ लाख, वडा नं ४ खाल्लेमा सात लाख, वडा नं ५ लङ्याङमा १२ लाख, वडा नं ७ दोर्पाचिउरीडाँडामा तीन लाख र वडा नं १५ विजयखर्कमा आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको राईको भनाइ छ । ‘पहिलो चरणमा करिब दुई सयजति राँगा वितरण गरिएको छ, अब डेढ सय जति वितरण गरिन्छ,’ राईले भने, ‘किसानको आयआर्जन, मल र मासुमा आत्मनिर्भर बनाउन राँगा वितरण गरिएको हो ।’
कृषक समूहको खातामा रकम जम्मा गरेर समूह आफैंले खरिद, ढुवानी त्यसपछि वितरण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।
