विवरण नबुझाउने २३ सहकारीलाई कारबाहीको चेतावनी

चैत्र ९, २०८१

रमेशचन्द्र अधिकारी

Warning of action against 23 cooperatives who do not provide details

धनकुटा — धनकुटा नगरपालिकाले लेखापरीक्षण र साधारणसभाको विवरण नबुझाउने २३ वटा सहकारी संस्थालाई खारेजीको चेतावनी दिएको छ । नगरपालिकाले मातहतका सहकारी संस्थालाई निर्धारित अवधिमा विवरण नबुझाएको भन्दै अन्तिम चेतावनीसहित १५ दिनको म्याद दिएको छ ।

उक्त अवधिभित्र नगरपालिकाले मागेको विवरण नबुझाए संस्था खारेजीको प्रक्रिया अघि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ मा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्रमा साधारणसभा बोलाउनु पर्ने उल्लेख छ ।

यसैगरी, ऐनको दफा ५२ को उपदफा १ मा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण तथा वार्षिक प्रतिवेदनलगायतका कागजपत्र पेश गर्नुपर्ने उल्लेख छ । तर, निर्धारित अवधिमा २३ वटा सहकारीले नियम अनुसारको कार्य नगरेकोले अन्तिम चेतावनी दिइएको राईले बताए । उनले भने, ‘निर्धारित समयसीमा भित्र विवरण नबुझाए संस्था खारेजी गरिने तयारी गरिएको छ ।’

यसरी विवरण नबुझाउने सहकारी संस्थामा साथी बचत तथा ऋण सहकारी, समृद्धि बचत तथा ऋण, धनकुटा नगरपालिका एभोकाडो कृषक सहकारी, मजदुर बचत तथा ऋण सहकारी, निशान उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यस्तै, महिला सशक्तिकरण बचत तथा ऋण सहकारी, पशुपति महिला बचत तथा ऋण सहकारी, लक्ष्मी बचत तथा ऋण, हिले बचत तथा ऋण, स्वावलम्बन बहुउद्देश्यीय सहकारी, आनिना बहुउद्देश्यीय, दुग्ध उत्पादक सहकारी, पाथिभरा दुग्ध, अरुण उपभोक्ता, खेलकुद सहकारी रहेको नगरपालिकाले जनाएको छ । यसैगरी, जडिबुटी उत्पादन प्रशोधन तथा पर्यटन कृषि सहकारी, गुठी कृषि सहकारी, मार्गापोखरी कृषि सहकारी, सिंहदेवी कृषि सहकारी, नेब्ला कृषि सहकारी, हाम्रो कृषि सहकारी, पञ्चकन्या कृषि, साततले गुफा कृषि सहकारी रहेका छन् । 

नगरपालिकाले तोकिएको समयभित्र विवरण नबुझाए सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ बमोजिम संस्था दर्ता खारेजीको प्रक्रिया अघि बढाउने जनाएको छ । यसअघि तीन वटा सहकारीले झन्डै एक सय बचतकर्ताको साढे ४ करोड बढी रकम अपचलन गरेको समेत नगरपालिकामा उजुरी परेको थियो । ती संस्थाले बचतकर्ताको रकम फिर्ता गराउन थालेको दाबी गरेको छ । उजुरी परेका सहकारी संस्थामध्ये धनकुटा–६ मा रहेको हाम्रो कृषि सहकारीले सबैभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । उक्त संस्थाका ६० बढी बचतकर्ताको ४ करोड २९ लाख २४ हजार ७ सय १६ रुपैयाँ फिर्ता नगरेको नगरपालिकाले जनाएको छ । 

यस्तै, धनकुटा–६ स्थित समृद्धि बचत तथा ऋण सहकारीको अध्यक्ष लोकेन्द्र खड्काको नाममा पनि उजुरी परेको छ । उक्त संस्थाले १८ जना बचतकर्ताको ६ लाख ९६ हजार १ सय २५ रकम फिर्ता नगरेको जनाएको छ । धनकुटा नगरपालिका १ मा रहेको अरुण उपभोक्ता सहकारीका अध्यक्ष गणेश पोख्रेलले सहकारीको बचत, सम्पत्ति हिनामिना गरेको तथा बचत रकम आफु खुसी परिचालन गरी संस्थालाई हानी नोक्सानी पुर्याएको दाबी गरिएको छ । संलग्न व्यक्तिहरुले धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ७९ अनुसार कसुर गरी बचतकर्ताको रकम अपचलन गरेको भन्दै प्रहरीलाई पत्राचार गरिएको थियो । 

नगरप्रमुख चिन्तन तामाङले कतिपय सहकारी संस्थाबाट बचतकर्ताको रकम फिर्ता नगरी वित्तीय उत्तरदायित्व पुरा नगरेको र अपचलन गरेकोले कारवाहीको दायरामा ल्याउन जरुरी रहेको बताए । यसअघि नगरपालिकाले सहकारी ऐन विपरित कार्य गरेको भन्दै १७ वटा सहकारी संस्था खारेजी गरेको थियो । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully