धनकुटा — धनकुटाका अग्रज पत्रकार विष्णुमान श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक समेत रहेका श्रेष्ठको शुक्रबार निधन भएको हो ।
वि.सं २०४९ सालमा महासंघको शाखा स्थापनाका समयमा श्रेष्ठ उपाध्यक्ष रहेका थिए । तत्कालीन समयमा श्रेष्ठ करिब दुई दशक राष्ट्रिय समाचार समितिका धनकुटा प्रतिनिधिका रुपमा समेत कार्यरत रहेको जनाइएको छ ।
पछिल्लो समय अस्वस्थ्य अवस्थामा घरैमा आराम गरेको अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसैबीच, नेपाल पत्रकार महासंघ धनकुटा शाखाले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गर्दै शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ ।
