एखुवा खोलामा पुल बनेपछि स्थानीयलाई राहत

चैत्र ९, २०८१

रासस

Relief to the locals after the bridge was built on the Ekhuwa river

भोजपुर — एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । 

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । 

'एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ,' प्रमुख रेड्डीले भने, 'पुल सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ ।'

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए। पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ । खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ । 

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए। पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ । 'यो खोलामा पुल बनेपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको छ,' वडाध्यक्ष राईले भने, 'पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई  सहजता भएको छ ।'

वर्षौंबाट सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताए। 'यो खोलामा हाम्रो पालामा पुल बन्छ भन्ने साचेको थिइन,' उनले भने, 'यो खोलामा पुल नभएको कारण धेरै समस्या रहेको थियो । अहिले पुल बनेर सञ्चालनमा आउँदा खुसी लागेको छ ।'

रासस

Link copied successfully