भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री वितरण

चैत्र ८, २०८१

रासस

Distribution of agricultural materials to 750 farmers of Bhojpur

भोजपुर — पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । 

गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। किसानलाई व्यावसायिक  अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए। 

'किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ,' प्रशासकीय अधिकृत भट्टराईले भने, 'पहिलो चरणमा ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।'

किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर विरतण गरिने उनको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। किसानलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

'हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ,' उपाध्यक्ष राईले भने, 'किसानलाई मागका आधारमा सहयोग गरेका हौँ ।' किसानलाई बर्सेनि आवश्यक कृषि सामग्री वितरण भइरहेको उपाध्यक्ष राईले बताए। 

यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रुपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यहाँको उत्पादित कृषिउपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ । 

'कृषि क्षेत्रको दिगो विकासबाट मात्र किसानलाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ,' अध्यक्ष राईले भने, 'हामीले कृषिको योजनाबद्ध विकासका लागि काम गरिरहेका छौँ । कृषिमा लगानी गरिएसँगै गाउँपालिकामा अकबरे खुर्सानीबाट मात्र करोडौँ आम्दानी भित्रने थालेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रममा जोड दिएका छौँ ।'

गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताए। विगतबाट नै गाउँपालिकाले किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । 

'गाउँपालिकाले गरेको सहयोगले कृषिमा लाग्न प्रोत्साहन मिलेको छ,' उनले भने, 'विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्री दिँदै आएको छ । यो पटक मैले एक रोल मल्चिङ प्लाष्टिक पाए । मल्चिङ गरेर व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गर्ने सोच छ ।'

पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताए। गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उनको भनाइ छ । 'गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ,' उनले भने, 'विगतदेखि नै गाउँपालिकाले कृषकलाई सहयोग गर्दै आएको छ ।'

रासस

Link copied successfully