पाथीभरा मन्दिर क्षेत्रमा ढुंगा र भर्‍याङ गाड्नेले तीन दिनभित्र गर्न क्षेत्र विकास समितिको निर्देशन

चैत्र ८, २०८१

आनन्द गौतम

Direction of Area Development Committee to bury stones and ladders in Pathibhara temple area within three days

ताप्लेजुङ — पाथीभरा क्षेत्र विकास समितिले मन्दिर क्षेत्रमा मकुम्लुङ (ढुंगा) र यग्राङसिं (फलामको नौ तले भर्‍याङ) गाड्नेले तीन दिनभित्र कार्यालयको सम्पर्कमा आउन निर्देशन दिएको छ ।

तीन दिनभित्र सम्पर्कमा नआए उक्त संरचना क्षेत्र विकास समितिले हटाउने कार्यकारी निर्देशक प्रजिन हाङबाङले शुक्रबार विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । सरकारले विकास समिति ऐन १३ बमोजिम पाथीभरा क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न समिति गठन गरेको स्मरण गराउँदै उनले समितिको स्वीकृतिबिना यस्ता कार्य गरिएको प्रति असन्तुष्टि जनाएका छन् । 

समितिको निर्णयअनुसार मुख्य प्रवेशद्वार भित्रका क्षेत्रमा रहेका मानवनिर्मित संरचना निर्माण नगर्ने, भएको हटाउने र वृक्षरोपण गरी हटाउने निर्णय भएको र त्यहीअनुसार काम भइरहेको दाबी गरिएको छ । परिसरभित्र किरात धर्मगुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक पनि रहेको छ । समितिले संघ, संस्था व्यक्तिबाट निर्माण भएका संरचना १५ दिन भित्रमा हटाउन वा व्यवस्थापन गर्न कार्यालयमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । 

पछिल्लो समय मकुम्लुङ र यग्राङसिं कसले राख्यो भन्ने नखुलेको क्षेत्र विकास समितिका कर्मचारीको भनाइ छ । ‘बेलुका सुत्दा थिएन, बिहान उठ्दा गाडिराखेको थियो,’ पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भने, ‘यसरी राख्नेको खोजी र हटाउने प्रयोजनका लागि सूचना निकालेका हौं ।’ 

भौतिक पूर्वाधार मन्त्रालयको सहभागितामा पाथीभराको गुरुयोजना बनाए पनि यसलाई समितिले कार्यान्वयनमा ल्याउन सकेको छैन । चैत ६ गते राति गाडेको संरचना हटाउन क्षेत्र विकास समितिले ८ गते विज्ञप्ति निकालेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully