हत्या गरी फरार रहेका व्यक्ति २० वर्षपछि पक्राउ

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

A person who was absconding after murder was arrested after 20 years

संखुवासभा — हत्या गरी फरार रहेको अभियोगमा संखुवासभा प्रहरीले चतुरमान तामाङलाई २० वर्षपछि पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोलीले हत्या गरेर फरार भएका चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरेको जनाएकाे  छ ।

तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षे पर्शुराम विश्वकर्माको हत्या गरेका थिए ।

हत्या अभियुक्त तामाङलाई जिल्ला अदालत संखुवासभाले २०६७ कात्तिक १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । उनी विश्वकर्माको हत्या लगत्तै फरार भएका थिए ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत् कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गाउँमै लुकेर बसेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे । 

हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका तामाङलाई चैत ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully