ताप्लेजुङका ९ पालिकालाई संघीय सरकारको ९९ करोड २० लाख

चैत्र ८, २०८१

आनन्द गौतम

99 million 20 million from the federal government to the 9 municipalities of Taplejung

ताप्लेजुङ — आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले ताप्लेजुङका ९ स्थानीय तहलाई ९९ करोड २० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले रकम प्रदान गर्ने भएको हो । 

आयोगका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले १४ करोड ६९ लाख पाउनेछ भने सबैभन्दा कम मैवाखोला गाउँपालिकाले ९ करोड ४४ लाख पाउनेछ । सिरिजंगाले १२ करोड ७८ लाख, फक्ताङलुङले ११ करोड ३३ लाख, मेरिङदेनले १० करोड ७९ लाख, सिदिङवाले १० करोड ३० लाख, पाथीभरा याङवरकले १० करोड ७ लाख, आठराई त्रिवेणीले १० करोड र मिक्वाखोलाले ९ करोड ९० लाख पाउने उल्लेख छ । न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित गरी तीन विधामा रकम दिइन्छ ।  

कार्यसम्पादनका आधारमा पाउने रकम भने मेरिङदेनले सबैभन्दा बढी ५८ लाख पाउने भएको छ । सबैभन्दा कम सिदिङवाले ३९ लाख पाउनेछ । पाथीभरा याङवरकले ५७, मैवाखोलाले ५५, फक्ताङलुङले ५०, आठराई त्रिवेणीले ५०, सिरिजंगाले ४८ र  मिक्वाखोलाले ४२ लाख पाउनेछन् ।

फुङलिङ नगरपालिकाले भने सिरिजंगाले जति मात्रै अर्थात् ४८ लाख पाउने भएकोछ । कार्य समपादन राम्रो भए अनुदान बढी प्राप्त हुने प्रावधान रहेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully