खोटाङ — आगामी वैशाख १ मा रेडपाण्डा तथा थार महोत्सव हुने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले महोत्सव आयोजना गर्ने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले वैशाख १ गते हुर्लुङमा विभिन्न जातजातिको संस्कार संस्कृतिअनुसारका खानपान, भेषभूषा प्रस्तुति गरिने बताए । ‘अभिनेता दयाहाङ राईको प्रमुख आतिथ्यमा रेडपाण्डा तथा थार महोत्सव हुनेछ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसका साथै रेडपाण्डा–थार ट्रेल पनि सुरु गरिनेछ ।’
भट्टराईका अनुसार हुर्लुङदेखि रूपाकोट हुँदै बगरेभन्ज्याङ, सिर्धन चौतारो, सिकुरी भन्ज्याङ, लहरे माने, बानियाँपाटी, साप्सुढाप, मेरुङ तीन थुम्कीबाट मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई रेडपाण्डा–थार ट्रेलका रूपमा सुरु गरिनेछ ।
नगरपालिका क्षेत्रमा पाइने रेडपाण्डा तथा थारको संरक्षण गरी पर्यटन प्रवर्द्धन गरिने उनले बताए । यसका लागि उक्त नगरपालिका–१० का वडाअध्यक्ष मुगाधन राई महोत्सवको संयोजकत्व तोकिएका छन् ।
पाथेकाका विभिन्न सामुदायिक वनमा रेडपाण्डा र थार पाइन्छन् । रेडपाण्डा तथा थार महोत्सवका लागि प्रचार–प्रसार गर्न फोटो तथा भिडिओ खिच्न गएको टोलीले गत चैत ४ गते बिहान ८ बजेर ४० मिनेटमा कोप्चे र मेरुङ सामुदायिक वनको सिमानामा रेडपाण्डा फेला पारेको थियो । २ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पलमसिं राईले बताए ।
रेडपाण्डा करिब अढाइ वर्षको भाले भएको मेरुङ सामुदायिक वनका रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए । ‘यो क्षेत्रमा करिब पाँच वटा रेडपाण्डा हुन सक्छ भन्ने अनुमान गरिएको छ,’ उनले भने ।
