खोटाङ — खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा लोपोन्मुख रेडपाण्डा फेला परेपछि खुसीयाली छाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको टोलीले सोमबार बिहान फेला पारेपछि खुसीयाली छाएको हो ।
आगामी वैशाख १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने रेडपाण्डा तथा थार महोत्सवका लागि प्रचार प्रसार गर्न फोटो तथा भिडिओ खिच्न गएको टोलीले फेला पारेको हो । चैत १ गतेदेखि कोप्चे र मेरुङ सामुदायिक वनमा खोजी गर्दा मेरुङ र कोप्चे सामुदायिक वनको सिमानामा सोमबार बिहान ८ बजेर ४० मिनेटमा दुई हजार सात सय ८१ मिटरको उचाइमा फेला पारिएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पलमसिं राईले बताए ।
विभिन्न समूह विभाजन गरी रेडपाण्डा खोजी गरिएको थियो । यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका प्रचण्ड राईले सुरुमा देखेका हुन् । त्यसपछि फोटो तथा भिडिओहरू खिचिएका छन् । उक्त रेडपाण्डा करिब अढाई वर्षको भाले भएको स्थानीय तथा मेरुङ सामुदायिक वनका रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए । मेरुङ सामुदायिक वनमा पाँच वटा रेडपाण्डा हुन सक्ने गिरीको भनाइ छ । ‘यो क्षेत्रमा करिब पाँच वटा रेडपाण्डा हुनसक्छ भन्ने अनुमान गरिएको छ,’ गिरीले भने ।
कोप्चे सामुदायिक वन क्षेत्रमा पनि रेडपाण्डा पाइने रेडपाण्डा हेरालु दिनेश गिरीले बताए । तर कति छन् भन्ने यकिन नभएको गिरीले सुनाए ।
