'जनताको अपेक्षाअनुसार प्रणाली कार्यान्वयन हुन नसक्दा असन्तुष्टि चुलियो'
विराटनगर — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको अपेक्षाअनुसार कार्यान्वयन गर्न नसक्दा गणतन्त्रप्रति जनताको मोह भंग हुन लागेको बताएका छन् । प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको 'वर्तमान राजनीति र समाजवादको यात्रा' विषयक अन्तरसंवादमा उनले गणतन्त्र आउनु मात्रै पर्याप्त नभएको र जनताको अपेक्षाअनुसार यो प्रणाली कार्यान्वयन हुन नसक्दा असन्तुष्टि चुलिएको बताए ।
'गणतन्त्र नभएको भए अझै सय वर्षजति हाम्रो देश अँध्यारोमा जान्थ्यो होला,' उनले थपे ।
चन्दले वर्तमान नेपाली समाजका समस्यालाई औंल्याउँदै संकट र चरम राजनीतिक अन्तरविरोधले अर्थतन्त्रमा संकट उत्पन्न भएको दाबी गरे । 'दलाल पुँजीवादका कारण अर्थ-राजनीतिक संकट छ,' उनले थपे, 'उत्पीडित वर्ग, दलित, महिला र मधेशी अझै पनि सन्तुष्ट छैनन्, जसले गर्दा नेपाली समाज ठूलो राजनीतिक भुमरीमा फसेको छ ।'
उनले वैज्ञानिक समाजवाद मात्रै राजनीति निकासको एक मात्र उपाय भएको बताए । 'पश्चगमन फर्किनु भनेको दुर्घटना हो । निकास अग्रगमन र गणतन्त्र नै हो,' उनले भने ।
उनले माओवादीहरू बीच एकता सम्भव रहेको बताउँदै एउटै पार्टी बनाउन केही समय लाग्ने उल्लेख गरे । 'तर, मोर्चा बनाएर अघि बढ्न सकिन्छ,' उनले भने ।
उनले जनमत संग्रहको पक्षमा आवाज उठाउँदै दाबी गरे, '८० प्रतिशत जनता गणतन्त्रको पक्षमा छन् ।'
