फिदिममा ३ दिनमा ५९ जनाको हाडजोर्नीको शल्यक्रिया

चैत्र ७, २०८१

लक्ष्मी गौतम

59 people in 3 days in Phidim Orthopedic surgery

पाँचथर — जिल्ला अस्पतालमा आयोजित निःशुल्क पाँचदिने हाडजोर्नी शिविरमा ३ दिनमै ५९ जनाको शल्यक्रिया गरिएको छ ।

८ सय ३७ जना हाडजोर्नीको समस्या भएका बिरामीको परीक्षण गरिएकामा ५९ जनाको बिहीबारसम्म शल्यक्रिया गरिएको हो ।

फिदिम नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र पाँचथर जिल्ला अस्पतालको संयुक्त आयोजनामा शिविर आयोजना भएको हो ।

शिविरमा हातगोडा र शरीरमा राखेको स्टिल झिक्ने, भााचिएका र बांगिएका हड्डी मिलाउने र अप्रेसन गर्नेजस्ता काम भइरहेको छ ।

पाँच दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत तेस्रो दिनसम्म ५९ जनाको अप्रेसन गर्नुका साथै ८ सय ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

शिविरमा अर्थोपेडिक अस्पताल काठमाडौंका विशेषज्ञ चिकित्सक सहभागी छन् । शिविर चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully