'नो केबलकार' समूहका १८ जना धरौटीमा छुटे

चैत्र ७, २०८१

आनन्द गौतम

18 people from the 'No Cable Car' group were released on bail

ताप्लेजुङ — गत फागुन १० गते साँझ राँके जुलुस निकाल्ने क्रममा भएको झडपपछि पक्राउ परेका 'नो केबलकार' समूहका १८ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठको इजलासले आज जनही २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । उनीहरु धरौटी बुझाएर रिहा भएका छन् ।  

सरकारको तर्फवाट जिल्ला न्यायाधिवक्ता कार्यालयका वकिल कञ्चन घिमिरे र आन्दोलनरत समूहका तर्फबाट कानुन व्यवसायीहरु बलराम भट्टई, राम थापा, देवराज मेन्याङबो र ठाकुर लिम्बूले बहस गरेका थिए । आजै बयानपछि थुनछेक बहस र आदेश भएको हो ।  

उनीहरुमाथि आपराधिक उपद्रव र हुलदंगा गरेको अभियोग रहेको थियो । रिहा हुनेमा नवीन पोमु, सुनिता केरुङ, योगेन्द्र लावती, अनुप सुब्बा, दीक्षा भनिने निर्मला दर्नाल, इन्दिरा धौराली, विकेन लिम्बू, तुलाराम तामाङ, जुरन राई, हरिराज खिम्दिङ लिम्बु, एमन राई, अर्जुन तामाङ, विशेष सुब्बा, इक्सा लिम्बू, निहा चेम्जोङ, सुवास तुम्बाहाम्फे र सन्दीप केदेम रहेका छन् । नवीन, सन्दीप र सुवास ताप्लेजुङका हुन् भने अरु पाँचथर, सुनसरी, झापा लगायतका जिल्लाका हुन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully