धनकुटा नगरपालिका पूर्ण खोप सुनिश्चितत घोषणा

चैत्र ६, २०८१

रमेशचन्द्र अधिकारी

Dhankuta Municipality announces complete vaccination guarantee

धनकुटा — धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको आधारमा उक्त  घोषणा गरिएको हो ।

 सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई क्षयरोग, दादुरा, धनुष्टङ्कार, लहरेखोकी लगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसवर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३ सय ५६ जना बालबालिकालाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । धनकुटा नगरपालिकालाई पहिलो पटक २०७१ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो ।

त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिदै आएको छ । पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका थिए ।

उनले आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरे । उक्त अवसरमा धनकुटा ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले बालबालिकालाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकलाई आग्रह गरे ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully