सामुदायिक वनबाट सल्किएको आगोले एक विद्यालय र ९ घर जलेर नष्ट

चैत्र ५, २०८१

डम्बरसिं राई

A school and 9 houses were destroyed by a fire that started from a community forest

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा आगलागीबाट एक विद्यालय र ९ घर जलेर नष्ट भएका छन् ।

स्थानीय बाल्छीखोला सामुदायिक वनबाट सल्किएको आगोले सोमबार एक सामुदायिक विद्यालय र ९ घर जलेर नष्ट बनाएको हो । 

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार दिउँसो करिब साढे तीन बजेतिर सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले स्थानीय बालकन्या आधारभूत विद्यालयको दुई कोठे भवन तथा स्थानीय अदम राई, सम्मरबहादुर राई, पविन्द्रकुमार राई, हिराधन राई, कृष्णबहादुर राई, चयनकुमार राई, टंकबहादुर राईको घर पूर्ण रूपमा र रणबहादुर राईको घरमा आंशिक क्षति भएको हो ।

आगो राति ९ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिइएको गिरीले बताए । ‘नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीय लगायतले घर, विद्यालय तथा सामुदायिक वनको आगो नियन्त्रणमा लिएका हौं’, गिरीले भने ।

आगलागी पीडितलाई सोमबार राति नै प्रतिघर दश हजार रूपैयाँका दरले राहतसमेत वितरण गरिएको गिरीले जानकारी दिए । क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully