ग्रेट हिमालय ट्रेलमा निस्किएको टोलीलाई ताप्लेजुङमा स्वागत

चैत्र ४, २०८१

आनन्द गौतम

Welcome to Taplejung for the Great Himalayan Trail team

ताप्लेजुङ — १७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएको सिन्धुपाल्चोकका महिलाको टोलीलाई ताप्लेजुङ सदरमुकाम फुङलिङमा स्वागत र बिदाई गरिएको छ ।

सदरमुकाम फुङलिङका केही होटल व्यवसायीले होटल प्यारीजमा स्वागत तथा बिदाई गरेका हुन् । चार दिनअघि काठमाडौंबाट हिँडेका उनीहरु पाथीभरा दर्शन गरेर आइतबार बेलुका सदरमुकाम फर्किएका थिए । 

सोमबारदेखि ट्रेल रुटमा पर्ने कञ्चनजंघातर्फ लागेका छन् । सोमबार फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूसँग पर्यटनका विषयमा छलफल गर्ने टोलीको नेतृत्व गरेकी माया गुरुङले जानकारी दिइन् । 

उनीहरु विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर पाङपेमा बेसक्याम्प भएर लुम्वासुम्वा पास गर्दै संखुवासभा जानेछन् । घुन्सा, ओलाङचुङगोला लगायतको क्षेत्रमा स्थानीयले उनीहरुको स्वागतको तयारी गरेका छन् । 

एक सय दिनमा दार्चुला पुगेर टुंग्याउने यात्राको क्रममा १७ जिल्ला भ्रमण गर्ने टोलीले जानकारी दिएको छ । टोलीमा १९ देखि ४३ वर्षका महिला छन् । सोमबार तापेथोकको सेकाथुमसम्म गाडीमा र त्यसपछि ट्रेकिङ सुरु गर्ने गुरुङले जानकारी दिइन् ।

सम्बन्धित भिडियो सामाग्री :

 

 

 

 

 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully