ताप्लेजुङ — 'नो केबलकार' समूह र सरकारी वार्ता टोलीबीच उच्चस्तरको छलफलका लागि पहल गर्ने सहमति गर्दै आज काठमाडौंमा भएको वार्ता सकिएको छ ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आफूहरुले पनि उच्चस्तरको लागि पहल गर्ने र आन्दोलनरत समूहले पनि उच्चस्तरको समिति बनाउने सहमति भएको बताए । 'उहाँहरुले उठाएको विषय हामीले सम्बोधन गर्न सकेनौं, उहाँहरुको टोली पनि समन्वय समिति मात्रै रहेछ,' उनले भने, 'अब उच्चस्तरीय समिति बनाएर वार्ता गर्ने सहमति बन्यो ।'
नो केबलकार समूहबाट वार्तामा सहभागी आलोक माबोहाङले आफूहरुले एक मात्र प्रस्ताव केबलकार खारेजी राखेको र सरकारी समितिले हामीबाट सम्भव छैन भनेपछि सम्भव हुने समिति बनाउने निर्णय भएको बताए । उनका अनुसार अर्को वार्ता ७ गते हुनेछ । नो केवलकार समूहबाट सरु सिंघक नेतृत्वको टोली वार्तामा बसेको थियो ।
सरकारी वार्ता टोलीका संयोजक भट्टराईले अनुसार सरकार, केबलकार निर्माण कम्पनी र आन्दोलनरत समूहसँग पुनः वार्ता हुने बताए ।
वार्ता टोली र आन्दोलरत समूहबीच यसअघि दुईपटक वार्ता भएकाे थियो । दोस्रो वार्तापछि सहसचिव स्तरीय समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनरत समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका क्रममा १८ जना पक्राउ परेका छन्, ९ जनालाई पक्राउ आदेश लिएको छ ।
