झापा — झापाको जंगलभित्र बुधबार साँझ एक हात्ती मृत अवस्थामा फेला परेको छ। सड्न लागेको अवस्थामा शव फेला परेको हो ।
कचनकवल-७ को पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको हो । प्रहरीका अनुसार मृतक हात्तीको वरिपरि ३-४ वटा हात्तीहरू घेराहाली बसिरहेका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको छ।
प्रहरीका अनुसार हात्तीको उमेर, लिङ्ग र मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। हालसम्म मृतक हात्ती वयस्क हो वा छावा, भाले हो वा पोथी भन्ने विवरण पनि यकिन हुन सकेको छैन।
घटनास्थलमा डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली परिचालित छ। हात्तीको मृत्युको कारण र थप विवरण अनुसन्धानपछि मात्र थाहा हुने अधिकारीहरूले बताएका छन्।
संरक्षणकर्मी शंकर लुइँटेलले हात्ती करिब एक महिना दिन अघि मरेको हुन सक्ने अनुमान गरे । उनले भने, 'शव सड्न लागेका कारण हात्ती महिना दिनअघि नै मरेको या मारिएको हुन सक्छ ।'
