कोशी प्रदेशमा लागुऔषध नियन्त्रणका लागि ‘फाइट अगेन्स्ट नार्कोटिक्स’ अभियान 

फाल्गुन २८, २०८१

अर्जुन सुवेदी

'Fight Against Narcotics' campaign for drug control in Koshi region

सुनसरी — लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फाइट अगेन्स्ट नार्कोटिक्स’ अभियान सुरु भएको छ । 

‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार बिहान इटहरीमा उद्धघाटन गरे । 

विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।

६ वर्षअघि सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान बुधबारदेखि कोशी प्रदेशभरमा विस्तार गरिएको हो । सुनसरी प्रहरी प्रमुख हुँदा अभियानको परिकल्पना गरी लागू गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछि अभियानलाई प्रदेशव्यापी बनाइएको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरुले वार्षिक कार्ययोजनामै समेटर साथ दिएको डिआईजी अधिकारीले बताए । 

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताउँदै यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा सहयोग पुग्ने बताए ।

अर्जुन सुवेदी

Link copied successfully