बाक्सिला बजारमा म्याद नाघेका वस्तु नष्ट

फाल्गुन २८, २०८१

डम्बरसिं राई

Expired items destroyed in Baxila market

खोटाङ — केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा म्याद नाघेका खाद्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ । बुधबार अनुगमन गर्दा फेला परेका ३८ हजारभन्दा बढी मूल्य बराबरको खाद्य तथा अन्य वस्तु नष्ट गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङका अधिकृत हीराधन राईका अनुसार बिस्कुट, आटा, दालमोठ, मुङदाना, जुस, मसला, रसबरी, तेल, अजिना, फुरनदाना, आइसक्रिम, ललिपप, फिनेल, सरफ लगायतका ३८ हजार आठ सय १० रूपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरिएको हो ।

‘बाक्सिला बजार अनुगमन गर्दा विभिन्न खालका खाद्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ,’ राईले भने ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, उद्योग वाणिज्य संघ केपिलासगढी, इलाका प्रहरी कार्यालय बाक्सिला लगायत सरोकारवाला निकायको संयुक्त अनुगमनमा उक्त सामान बरामद गरी नष्ट गरिएको राईले सुनाए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully