सत्तारुढ दलको ह्वीप, विपक्षीद्वारा बहिष्कारको चेतावनी
विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ ।
प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।
एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो । नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ । प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो ।
यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकार संसद्मा उठाइएका विषयहरू सम्बोधन गर्न असफल भएको र संसद्लाई पेलेर अघि बढ्न खोजेको आरोप उनीहरुको छ ।
प्रधानमन्त्री ओली मंगलबार १०:३० aजे काठमाडौंबाट हेलिकोप्टरमा उड्ने छन् ।
उनी सोझै पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा ओर्लने छन् । ११:४५ बजे विश्वविद्यालयका कूलपतिको हैसियतमा उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनकोसमेत उद्घाटन गर्ने छन् ।
१२:०५ बजे कूलपतिको हैसियतमा पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक एवं १३ औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्ने छन् ।
दिउँसो २:३० बजे कोशी प्रदेश सभामा उनको विशेष सम्बोधन रहने कोशी प्रदेश सचिवालयले जनाएको छ ।
४:३० बजे उनी हेलिकोप्टरमार्फत् काठमाडौं फर्किने सुरक्षा स्रोतले जनाएको छ ।
