काबेली जलविद्युत‍्मा कार्यरत मजदुरको मृत्यु

फाल्गुन २४, २०८१

आनन्द गौतम

The death of a laborer working in Kabeli hydroelectricity

ताप्लेजुङ — माथिल्लो काबेली जलविद्युत् आयोजनामा कार्यरत सिदिङ्वा गाउँपालिका-६ मेहेलेका ४७ वर्षीय धनप्रसाद भण्डारी मृत फेला परेका छन् । सिरिजङ्गा-५ पेदाङको मुक्तुरा भीरको फेदमा रहेको काबेली खोलामा उनको शव फेला परेको हो । 

खोलामा ढुंगाको चेपमा अड्किएको अवस्थामा भण्डारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । शुक्रबार बिहान जलविद्युत् आयोजनामा काम गर्न गएका भण्डारी बेलुकासम्म नफर्किएपछि परिवारले खोजी गरेका थिए । 

स्थानीयले खोलाभित्र शव देखेपछि इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेको प्रहरीले जनाएको छ । तेल्लोक इलाका प्रहरी कार्यालयका निरीक्षक दुर्गा खनालका अनुसार भीरबाट लडेर मृत्यु भएको अनुमान स्थानीयले गरेका छन् । घटनाबारे अनुसन्धान सुरु गरेको खनालले जानकारी दिए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully