ताप्लेजुङ — २१.९३ मेगावाट क्षमताको काबेली ३ जलविद्युत् परियोजनाबाट चैत पहिलो साताभित्रै उत्पादन सुरु हुने भएको छ । सिरिजङ्गा गाउँपालिकामा उत्पादन गर्न लागिएको विद्युत् निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।'आउँदो चैत पहिलो साता सम्ममा विद्युत् सुरु गर्ने तयारीमा छौं,’ उनले भने । यसको निर्माण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गर्दै आएको छ ।
चैत मसान्तभित्र सम्पन्न गर्नेगरी २०७९ माघदेखि काम सुरु भएको थियो । सिरिजङ्गा-५ पेदाङ, वडा नम्वर ६ मामाङखे र वडा नम्वर ७ खेबाङमा आयोजनास्थल रहेको छ । मामाङखे र खेबाङको सिमाना भएर वहने ओथम्मा गहिरी मुहानदेखि ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा पुर्याइएको छ । यहाँ उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए अमरपुर सबस्टेसनमा जडान गरिन्छ । यो पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको छ ।
विद्युत् गृहदेखि ३१ वटा टावर पोलमार्फत प्रसारण लाइनमा पुर्याउने आयोजनाका वरिष्ठ इन्जिनियर सिद्धान्त थपलियाले जानकारी दिए ।
आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रहेको ढुंगानाले बताए । एनएमबी, प्रभु र नबिल बैंक लिमिटेडको साझेदारीमा विद्युत् उत्पादन गरिएको हो । यही खोलाबाट यसअघि १३.५ मेगावाटको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेलीबाट उत्पादन सुरु भइसकेको छ ।
