कानुन प्रभावकारी नहुँदा सहकारी संस्थामा समस्या रहेको गुनासो

फाल्गुन २४, २०८१

रमेशचन्द्र अधिकारी

Complaints that there is a problem in cooperatives because the law is not effective

धनकुटा — सहकारी नियमन र व्यवस्थापनका लागि कानुन प्रभावकारी नहुँदा सहकारी क्षेत्रमा समस्या बढ्दै गएको सरोकारवालाले गुनासो गरेका छन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले धनकुटामा आयोजना गरेको पालिकास्तरीय जनप्रतिनिधि तथा सरोकारवाला सम्बन्धी अन्तर्क्रियामा सहभागीले यस्तो गुनासो गरेका हुन् । उनीहरुले समयमा नै कानुन नबन्दा बचतकर्ताले समस्या भोग्दै आएको बताए ।

अन्तर्क्रियामा उद्योग कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तोयोनाथ तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा संकट देखाएर चाबी लगाउँदैमा त्यस क्षेत्रमा देखिएका संकट समाधान हुन नसक्ने बताए । सहकारीको अवस्था, अवसर, चुनौती, भावी कार्य दिशाबारे प्रस्तुति राखेका थिए । सहकारीलाई व्यवस्थित गर्न बचतकर्ता र सहकारी सञ्चालकहरु सचेत हुनुपर्नेमा जोड दिइएको छ । 

जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले सहकारी संस्थाको नियमन, नियन्त्रण गर्न र तालिम दिलाउने सहकारी कार्यालय विस्थापित गरेपछि अझ संकट निम्तिएको बताए । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सहकारी कानुन, शिक्षा तथा अनुगमन नहुँदा समस्या हुने गरेको जनाए । अन्तर्क्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी, सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेपी भुजेलले धारणा राखेका थिए । 

कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका उद्योग महाशाखा प्रमुख पदमबहादुर ठकुराठीले सहकारी संस्थाहरुमा देखिएका विकृति र विसंगतिको नियमन हुन थालेको र यसले मूर्त रुप लिन लागेको बताए । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully