विराटनगर — झापाको चन्द्रगढी विमानस्थलमा सुरक्षाकर्मीले एक यात्रुबाट ठूलो परिमाणमा बोधीचित्त बरामद गरेको छ। चन्द्रगढीबाट बिहीबार साँझ काठमाडौं उड्न लागेका ५२ वर्षीय सानु बाबु तमाङको सामानको चेक गर्दा विमानस्थल सुरक्षाकर्मीले १ सय १० थान बोधीचित्तको माला र १५ किलो बोधीचित्तको दाना बरामद गरेको छ।
काभ्रेपलान्चोक ठूलोपर्साल घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध निवासी तामाङले बोकेको झोला र सुटकेसबाट यी सामानहरू फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तामाङले उक्त बोधीचित्तको कुनै कानुनी कागजात वा बिल बीजक देखाउन नसकेपछि, सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जनाइएको छ ।
बरामद गरिएका सामानसहित थप अनुसन्धान र कारबाहीका लागि तामाङलाई डिभिजन वन कार्यालय झापामा पठाइएको छ। बोधीचित्त संरक्षित वनस्पतिको सूचीमा परेकोले यसको अवैध ओसारपसार र कारोबार गर्न प्रतिबन्धित मानिन्छ।
