सुनसरी — दुहबी नगरपालिकाले ६ लेन सडक विस्तार आयोजना क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्थानीयले अटेर गरेपछि बल प्रयोग गरेर डोजर चलाएको छ । सडक विभाग, ६ लेन सडक विस्तार आयोजना कार्यालयको समन्वयमा नगरपालिकाले बिहीबारदेखि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन डोजर चलाएको हो ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदार नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपासका क्षेत्रमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो । रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत दुहबीको मुख्य बजारमा काम अलपत्र परेपछि नगरपालिका र सडक आयोजना कार्यलयले पटक-पटक सूचना जारी गरी संरचना हटाउन आग्रह गर्दै आएको थियो ।
पछिल्लो समय संरचना भत्काउन जारी गरेको ३० दिनको सूचनाको म्याद हिजो सकिएकोले आजबाट डोजर चलाउनुपरेको नगरप्रमुख गच्छदारले बताए । बिहीबार सडक क्षेत्रभित्र परेका करिब ५० घरहरु डोजर लगाएर भत्काइएको हो । विगत लामो समयदेखि सडक क्षेत्रभित्र भएका घरहरू भत्काउन अटेर गर्दै आएका स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
एक महिनाअघि स्थानीयले दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि सडक विभागले ३० दिन भित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । नगरपालिकाले सडक विभागको समन्वयमा बजार क्षेत्रको ६३० मिटर बिल्टअप एरियाभित्र सडकको दायाँबायाँ ६–६ मिटर सेटब्याक कायम गर्नका लागि ७ वटा एक्स्काभेटरको प्रयोग गरिएको छ ।
घर टहरा भत्काउन अटेर गरेकै कारण दुहबीको मुख्य बजार क्षेत्रको सात सय मिटर क्षेत्रमा ६ लेन सडक विस्तारको काम बाँकी नै छ । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजनाअन्तर्गत पर्ने ४९ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपनि दुहबीको मुख्य चोक र धरान बजारमा काम अघि बढ्न सकेको छैन ।
