ताप्लेजुङमा मंसिरदेखि बन्द हवाई सेवा अझै सञ्चालनमा आएन

दुवै विमानमा समस्या आएपछि नियमित उडान बन्द

फाल्गुन २२, २०८१

रासस

Taplejung has been closed since November and the air service is still not operational

काठमाडौँ — जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा विमानमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।

विमानस्थल कार्यालयका अनुसार एउटा विमान दसैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।

नेपाल वायु सेवा निगमको ट्विनअटरले दसैंअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैंपछि शुक्रबार मात्रै उडान भइरहेको थियो । 

मार्च ४ (फागुन २० गत) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आए पनि विमान नआएकाले सञ्चालन गर्न नसकिएको सुकेटार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले बताए । उनका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो । 

लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौंसहित अन्यत्र जानुपर्ने सर्वसाधरण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।

रासस

Link copied successfully