एमाले मोरङ अधिवेशन : ८ सय ८८ जनाको मतदान, गणना बिहीबार बिहानदेखि

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

UML Morang Convention: 888 people voted, counted from Thursday morning

विराटनगर — एमाले मोरङको नयाँ नेतृत्वका लागि बुधबार साँझ मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार, कुल ९ सय ११ मतदातामध्ये ८ सय ८८ मतदाताले मात्रै मतदान गरेका छन् । मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ । बुधबार बिहान साढे ९ बजे सुरु भएको मतदान साँझमात्रै सकिएको थियो । 

१ सय ६५ सदस्यीय नयाँ जिल्ला कमिटीका लागि भएको चुनावमा मंगलबार ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरूका लागि मतदान भएको हो । जसमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको भनिएको समूहबाट राजकुमार ओझा, अध्यक्ष, शान्ति लिम्बू भुजेल उपाध्यक्ष, रविन थापा सचिव तथा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी उपसचिवमा उम्मेदवार बनेका छन् । 

त्यस्तै ओली इतरको गुटबाट अजम्बर राई अध्यक्ष, सागर थापा उपाध्यक्ष, सोमराज थापा सचिव तथा सन्तोष बान्तवा र उषा झा उपसचिवमा उठेका छन् । यो समूहलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको स्रोतको दाबी छ । 

गत महिना पूर्वको भ्रमणमा आएकी भण्डारीले ओलीइतर समूहसँग व्यापक भेटघाट गरेकी थिइन् । जसमध्ये मोरङका प्रभावशाली एमाले नेता विनोद ढकाल पनि थिए । ओलीइतर गुटको अगुवाई ढकालले नै गरेका छन् । 

कान्तिपुर

Link copied successfully