खुले हिमाली गाउँका विद्यालय

फाल्गुन २१, २०८१

आनन्द गौतम

Open Himalayan village schools

ताप्लेजुङ — चिसो बढेपछि बन्द भएका हिमाली क्षेत्रका विद्यालय खुलेका छन् । फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्साको कञ्चनजंघा र ओलाङचुङगोलाको महेन्द्र आधारभूत विद्यालय खुलेका छन् । याङमाको बालविकास केन्द्रमा पनि पढाई सुरु भएको स्थानीयले बताएका छन् ।

३१ सय मिटर उचाई माथिका यी विद्यालय पुषदेखि बन्द रहेका थिए । चिसो बढेपछि र हिउँ पर्न थालेपछि यहाँका विद्यालयमा बिदा हुने गरेको छ । घुन्सा आधारभूत विद्यालयका शिक्षक एलएन प्रसाईले अब चाहिँ विद्यार्थी पनि आइपुगेको बताए ।

‘गत आइतबारदेखि नै विद्यालय खुलेको हो, हामी त्यसैदिनदेखि विद्यालय जान थालेका छौं,’ एलएनले भने, ‘विद्यार्थी पनि सबै आउन थालेका छन् ।’ यी क्षेत्रका अभिभावक चिसो छल्न काठमाडौं, दार्जेलिङ, सदरमुकाम फुङलिङ लगायतका क्षेत्रमा जाने गरेका छन् । न्यानो सुरु भएपछि बालबच्चासहित फर्किन्छन् ।

३१ सय मिटर उचाईको घुन्सा, ३ हजारको फले र ओलाङचुङगोला, २७ सयको ग्याव्ला र ४ हजार मिटरको याङमाका विद्यालय हिउँदमा बिदा हुन्छन् । यतिबेला खुलेका विद्यालय शैक्षिक सत्रको परीक्षापछि केही दिन बिदा हुने गरेका छन् । बैशाख पहिलो सातादेखि लाग्ने विद्यालयहरु त्यसपछि भने दशैंमा मात्रै बिदा हुने गरेका छन् । 

एक दशकअघिसम्म कात्तिकदेखिनै हिउँ पर्थ्यो । हिउँ परेपछि बस्ती खाली हुनुथ्यो । तर पछिल्ला वर्षहरुमा हिउँ पर्ने क्रम कम भएको छ । हिउँ नपरे पनि अत्यधिक चिसो हुने भएका कारण पुषदेखि नै विद्यालय बिदा हुन्छन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully