मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्न विशेष योजनाको खाँचो

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Chief Minister Karki says: Need for a special plan to stop the migration of hilly areas

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रबाट तराईतर्फको बसाइँसराइलाई रोक्नका लागि विशेष योजना बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रदेश योजना आयोगले बुधबार प्रादेशिक राजधानी बिराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा हुने बसाइँसराइ अत्याधिक वृद्धि भएको भन्दै यसलाई रोक्नका लागि प्रभावकारी योजनाहरू बनाउनुपर्नेमा जोड दिए। उनले भने,'पहाडवाट मधेशमा बसाइँसराइ बढ्दै गएको छ, त्यसलाई रोक्न प्रभावकारी योजनाको खाँचो छ।'

मुख्यमन्त्री कार्कीले असन्तुलित बजेट वितरणलाई रोक्दै समानुपातिक र कार्यान्वयन योग्य बजेट बनाउन आवश्यक रहेको बताए। उनले पहाडी क्षेत्रको जनजीवन सहज बनाउन, रोजगारी सिर्जना गर्न र जीवनस्तर सुधार्नका लागि प्राथमिकताका साथ योजनाहरू अघि बढाउनु पर्ने धारणा राखे। उनले भने, 'हामीले लगानी गरेका योजनाहरूबाट आम्दानी हुने गरी योजनाहरू बनाउँदा प्रदेशको आर्थिक स्रोत बलियो बन्नेछ।'

मुख्यमन्त्री कार्कीले प्रदेशको स्रोत सीमित भएको कारण पर्यटन क्षेत्रमा लगानी बढाएर प्रदेशलाई आम्दानी गर्ने अवसर सिर्जना गर्नुपर्ने कुरामा पनि बताए।  उनले थपे, 'स्थानीय तहले पर्यटनमा लगानी गर्दा हामीले संयुक्त रूपमा लगानी गरेर आम्दानी बाँड्नुपर्नेछ, यसरी गर्दा प्रदेश र स्थानीय तहको स्रोत दुवै बढ्नेछ।'

प्रदेश योजना बैंकको प्रसंगमा  मुख्यमन्त्री कार्कीले प्रदेशका सांसदसँगको अन्तरक्रिया कार्यक्रममा योजना छनोट गर्दा सबैलाई स्वामित्व दिने र गुनासो न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए। उनले योजना बैंक सञ्चालनसँगै योजनाहरू विधिपूर्वक अघि बढ्ने र बजेटका विकृति हट्ने आशा व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य, मन्त्री र सचिवहरूको सहभागिता रहेको थियो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले पनि सन्तुलित विकास र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश योजना बैंक जरुरी रहेको बताए।

कान्तिपुर

Link copied successfully