मेरिङदेनका विद्यार्थीमा ‘इन्फ्लुएन्जा ए’ पुष्टि, बुधबारदेखि विद्यालय खुल्ने 

फाल्गुन २०, २०८१

आनन्द गौतम

'Influenza A' confirmed in Merringden students, school to open from Wednesday

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका ५ थुकिम्वाका विद्यार्थीमा देखिएको समस्या ‘इन्फ्लुएन्जा ए’ भएको पुष्टि भएको छ । ८० प्रतिशत विद्यार्थी निको हुँदै गएकाले बुधबारदेखि विद्यालय सञ्चालन गर्ने प्रधानाध्यापकले बताएका छन् ।

त्रिभुवन माध्यमिक र जनज्योति आधारभूत विद्यालयका अधिकांशजसो विद्यार्थी र शिक्षकसमेत बिरामी भएपछि गाउँपालिकाले पाँच दिनका लागि बिदा गरेर स्वास्थ्य परीक्षण गरेको थियो ।

१६ जनाको स्वाव परीक्षण गरिएकोमा १० जनामा ‘इन्फ्लुएन्जा ए’ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन निरीक्षक उदय नारायण दुलालले जानकारी दिए ।

मेरिङदेन गाउँपालिका स्वास्थ्य शाखाका अनुसार जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा बिरामीको स्वाव संकलन गरी प्रादेशक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । त्रिभुवन माविका प्रधानाध्यापक कमल लिम्बूका अनुसार अब बुधबारदेखि नियमित कक्षा सञ्चालन हुनेछन् ।

‘८० प्रतिशत विद्यार्थी निको पनि भइसकेका छन्,’ प्रधानाध्यापक लिम्बूले भने, ‘यो सामान्य समस्या हो भन्ने रिर्पोट आएपछि सबैमा मनोबल बढेको छ, अब विद्यालय लगाउँछौं ।’

यो चिसोका कारण हुने समस्या हो । विद्यार्थी बिरामी भएको बेला यो क्षेत्रमा चिसो बढेको र निकै दिनसम्म घाम पनि नदेखिएको लिम्बूले बताए ।

जनज्योतिमा सानो विद्यार्थी पढ्ने र ठूला त्रिभुवन माविमा आउने भएकाले दुवै विद्यालयमा एकै पटक सरेको उनले बताए । गाउँपालिकाका अनुसार गाउँलेहरु पनि धेरैजसो बिरामी परेका थिए । सूचना प्राप्त हुनासाथ स्वास्थ्यकर्मी परिचालन गरिएको र विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युक हांविर हाङगामले बताए ।

चिकित्सकका अनुसार यो संक्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको दुख्ने, नाक बन्द हुने, सिगान बग्ने, जीउ र मांसपेसी दुख्ने, थकान महसुस हुने गर्छ । जाडो महिनामा धेरै सकृय हुने यो जुनसुकै उमेर समूहमा देखिने गरेको छ । बोल्दा, खोक्दा, हाच्छिउ गर्दा नजिकको व्यत्तिको नाक वा मुखमा परेमा भाइरस सर्छ । 

यस्तो अवस्थामा बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सकेसम्म बिरामी अवस्थामा घरमै बस्ने, खोक्दा वा हाच्छिउ गर्दा मुख, नाक राम्ररी छोप्ने, सावुनपानीले हात धुने, शारीरिक रुपमा सकृय हुने र प्रसस्त तरल पदार्थ खाने गर्नुपर्छ ।

यस्तो समस्या यसअघि फक्ताङलुङ गाउँपालिका ६ लेलेपका विद्यालयमा पनि देखिएको थियो र विद्यालय बन्द गरिएको थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully