खोटाङ — खोटाङ–आहाले–रेग्मीटार सडक निर्माणको काम सकिन लागेको छ । सदरमुकाम दिक्तेल र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण सकिन लागेको हो ।
यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उनका अनुसार नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट सडक निर्माण सुरु गरेको हो । आहालेदेखि रेग्मीटारसम्म १४.५ किलोमिटर सडकमध्ये करिब ५ सय मिटर मात्र सडक खन्न बाँकी रहेको नगरपालिकाका प्रमुख इन्जिनियर रामहृदय पटेलले बताए । ‘भीरैभीर कटान गर्दै घर्तीभीरसम्म सडक ओपनिङ पुर्याइएको छ,’ पटेलले भने, ‘अब ७ सय मिटरजति मात्र बाँकी छ, यो आर्थिक वर्षमा सकिन्छ ।’
उक्त सडकमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको नगरपालिकाका लेखा अधिकृत राजकुमार राईले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा विनियोजित ४० लाखमध्ये ३९ लाख ६८ हजार ४ सय रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०८०/८१ मा विनियोजित २० लाखमध्ये १९ लाख ४६ हजार खर्च भएको उनले बताए । यस्तै चालु आर्थिक वर्षका लागि विनियोजित २५ लाखमध्ये १६ लाख ७८ हजार रूपैयाँ खर्च भइसकेको छ । ‘गौरवको आयोजनमा राखेर वर्षैपिच्छे बजेट विनियोजन हुँदै आएको छ, यो वर्ष पनि २५ लाख विनियोजन गरिएको थियो,’ राईले भने, ‘अब यो वर्षचाहिँ सक्ने गरी काम भइरहेको छ ।’
यसबाहेक आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारको ४० लाख बजेटमध्ये करिब १५ लाख पनि यसै सडकमा खर्च भएको नगरप्रमुख भट्टराईले बताए । गत वर्ष खर्च गरेर बाँकी रहेको बजेट यो वर्ष खर्च गरिने समेत भट्टराईले जनाए । ‘गत वर्ष प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत ४० लाख बजेट आएको थियो, त्यसमध्ये १५ लाख जति खर्च भएको छ, बाँकी बजेट पनि यो वर्ष खर्च गरेर सडक सक्छौं,’ भट्टराईले भने ।
आहालेदेखि रेग्मीटारसम्म सडक निर्माण सकिएपछि रेग्मीटारमा समगरमाथा लोकमार्गसँग जोडिन्छ । यो सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी हुँदै रेग्मीटारसम्म घुम्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले बताए । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाइ छ ।
