स्वास्थ्य संस्थाको सवलीकरणमा तीनै तहका सरकारले साझेदारी गर्नुपर्छ : मन्त्री पौडेल

फाल्गुन १८, २०८१

लक्ष्मी गौतम

All three levels of government should share in the modernization of health institutions: Minister Paudel

पाँचथर — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले ग्रामीण तहसम्म सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको सवलीकरण र दिगो सञ्चालनका लागि तीनै तहका सरकारका बीचमा साझेदारी हुनुपर्ने बताएका छन् । 

पाँचथरको फालेलुङ गाउँपालिका-३ मा निर्मित पाँच शैय्याको अस्पताल उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले गाउँ-गाउँमा स्वास्थ्य संस्थाहरू भएपनि स्वास्थ्यकर्मी नबस्ने गुनासो आइरहेको भन्दै त्यसको सम्बोधनका लागि तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए । 

'ग्रामीण तहसम्म स्वास्थ्य संस्था र विकासका पूर्वाधार निर्माण भइरहेपनि त्यहाँ डाक्टर र नर्स बस्दैनन्, त्यसले बसाइ सर्नेको संख्या दैनन्दिन बढिरहेको छ । घरदैलो नजिकैका स्वास्थ्य संस्थाको सवलीकरण र दिगो सञ्चालनका लागि संघीय सरकारले डाक्टर र केही उपकरण उपलव्ध गराउँछन्, अस्पताल चलाउन डाक्टर एक्लैले सक्दैनन्, डाक्टरसँग-सँगै नर्स र अरु स्वास्थ्यकर्मी चाहिन्छ, प्रदेश र स्थानीय तहले त्यो व्यवस्थापन गर्ने हो भने नागरिकले सामान्य उपचारका लागि बसाइँ सर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ,' मन्त्री पौडेलले भने । 

पछिल्लो समय पालिकास्तरमा करोडौं खर्चेर पूर्वाधार निर्माण गर्ने तर तिनको दिगो सञ्चालनमा योजना नबनाउने प्रवृत्ति मौलाउँदै गएकाले अब त्यसको रोकथाम गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने मन्त्री पौडेलको भनाई थियो । ‘पालिका र वडा तहमा भवन र पूर्वाधार बन्नुपर्छ तर स्थानीय सापेक्षतामा सुहाउने अनि मौलिकता पनि झल्काउने तिर जोड गर्नुपर्छ । अब रैथाने उत्पादनलाई बढावा दिन तिर लागौं,' मन्त्री पौडलले भने ।

फालेलुङ गाउँपालिका-३ नाम्लुवामा २०७८ साल देखि निर्माण सुरु भएको ५ शैय्याको अस्पताल हालै सम्पन्न भएको हो । भवन निर्माणमा संघ र स्थानीय सरकारको १२ करोड २ लाख ३ हजार १ सय १४ रुपैंया खर्च भएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully