किशोरी बन्धक बनाएको आरोपमा पक्राउ परेका दुई युवक ज्यान मुद्दाका फरार अभियुक्त

फाल्गुन १७, २०८१

रमेशचन्द्र अधिकारी

Two young men who were arrested on the charge of holding a girl hostage are fugitive accused in the murder case

धनकुटा — दुई किशोरीलाई बन्धक बनाएर यौनशोषण गरेको आरोपमा चौबिसे गाउँपालिका–३ गढीगाउँबाट शनिबार पक्राउ परेका दुई जना युवक कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको खुलेको छ ।

मोरङको उर्लाबारी घरभएका १४ वर्षका दुई किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान प्रहरीले उद्धार गरेको थियो । बन्धक बनाएर यौनशोषण गरेको आरोपमा उर्लाबारी–५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र चौबिसे–३ गढीगाउँका १९ वर्षकै सनिश याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका विक र याक्खा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा अनुसन्धान भइरहेका बेला उनीहरु कर्तव्य ज्यानका फरार अभियुक्त भएको पुष्टि भएको हो,’ डीएसपी खनालले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार गत जेठ ९ गते ती दुवै युवकलाई जिल्ला अदालत मोरङले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय तोकेको पाइएको छ । जसमा याक्खा ८ वर्ष ६ दिन र विक ६ वर्ष २ महिना ६ दिन कैद सजाय अदालतले तोकेको पाइएको डीएसपी खनालले बताए । उनीहरुले मोरङका एक व्यक्तिको हत्या गरेको अदालतको फैसलामा छ । घटनापछि उनीहरु फरार रहेका थिए । फरार रहेका दुवै जनाले दुई किशोरीलाई पुनः बन्धक बनाइ जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । सोही मुद्दामा धनकुटा प्रहरीले कानुनी प्रक्रिया अघि सारेको छ ।

विक र याक्खाले विगत तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको थियो । दुवै किशोरीलाई स्थानीय सनिश याक्खाको घरमा राखिएको अवस्थामा उद्धार गरिएको प्रहरी प्रवक्ता खनालले बताए । किशोरीलाई विक र याक्खाले ललाइफकाई भगाएर ल्याएको प्रहरीले जनाएको छ । उनीहरुलाई मुढेबास चौकीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully