भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएपछि ताप्लेजुङका दुई विद्यालय बन्द

फाल्गुन १७, २०८१

आनन्द गौतम

Two schools in Taplejung closed due to symptoms of viral influenza

ताप्लेजुङ — एकपछि अर्को गरी विद्यार्थीहरू बिरामी हुन थालेपछि स्वास्थ्यकर्मीको परामर्शमा मेरिङ्देन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

वडा न‌ं. ५ थुकिम्वाको त्रिभुवन माध्यमिक विद्यालय र जनज्योति आधारभूत विद्यालय बन्द भएका हुन् । तीन सय बढी विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको र पेट दुख्ने समस्या देखिएको छ ।

त्रिभुवन माविका प्रधानाध्यापक कमल लिम्बूका अनुसार उक्त विद्यालयका एक सय ५० विद्यार्थी र चार जना शिक्षकमा यस्तो लक्षण देखिएको छ। जनज्योतिमा भने शतप्रतिशतमा यस्तो लक्षण देखिएको र समुदायमा समेत लक्षण देखा पर्न थालेपछि तत्काल तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको लिम्बूले जानकारी दिए ।

विद्यालयबाट सूचना प्राप्त भए लगत्तै स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले बताए । उनका अनुसार गाउँमा नै सबै बिरामी परिरहेको र ज्वरो, खोकी, जिउ दुख्ने, नाकबाट पानी बग्ने,  टाउको र पेट दुख्ने जस्ता लक्षण देखिएकाले भाइरल इन्फुएन्जाको महामारी फैलिएको प्रारम्भिक अनुमान रहेको छ । 

यहाँ भाइरस परीक्षणका लागि विराटनगरबाट किट मगाइएको उनले बताए । 'नमुना परीक्षणका लागि यहाँ ल्याब छैन । हामी तत्काल ल्याब टेस्टका लागि नमुना पठाउँछौँ,' उनले भने, 'रिपोर्ट आएपछि यकिन हुन्छ ।' उनका अनुसार तत्कालका लागि गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी उपचार थालिएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully