खुम्बुमा पर्यटकको चहलपहल : 'स्प्रिङ सिजन'को पहिलो दिन १८ उडानमा भित्रिए १६६ विदेशी पर्यटक

फाल्गुन १७, २०८१

भानुभक्त निरौला

Tourist activity in Khumbu: 166 foreign tourists entered in 18 flights on the first day of 'spring season'

सोलुखुम्बु — पर्यटनको स्प्रिङ सिजन नजिकिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा पर्यटकको चहल पहल सुरु भएको छ । स्प्रिङ सिजन (मार्च–मे) को पहिलो दिन शनिबार मात्रै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा १८ वटा उडानमार्फत १ सय ६६ विदेशी पर्यटक भित्रिएका छन् । 

विभिन्न निजी कम्पनीका विमान र हेलिकोप्टरमार्फत ९७ पुरुष र ६९ महिला गरी १ सय ६६ विदेशी पर्यटक लुक्ला विमानस्थल ओर्लेका हुन् । शनिबार तारा एयरको ६ वटा, सीता एयरको ४, समिट एयरको ३ र हेलिकोप्टर ५ गरेर १८ वटा उडान भएको हो । 

सिजनको पहिलो दिन ५३ जना विदेशी पर्यटक बाहिरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहानदेखि दिउँसोसम्म लुक्ला विमानस्थलको मौसम सफा रहेको थियो । खुम्बु क्षेत्रमा हिमपात भइरहेका बेला भित्रिएका विदेशी पर्यटक हिउँमा रमाउन थालेको पर्यटन व्यवसायी निराजन शर्माले बताए । 

हिमाल आरोहणको मुख्य याम बसन्त ऋतु भएकाले आरोहणका लागि यो सिजनमा बढी पर्यटक खुम्बु क्षेत्र आउने गर्छन् । सगरमाथा, ल्होत्से, आमादब्लम, चोयुजस्ता अग्ला हिमाल र केही साना पिकसमेत आरोहणका लागि विदेशी आउने गरेका छन् । पछिल्लो समय हिमाल आरोहणमा विदेशी नागरिकको आकर्षण बढ्दो छ ।

भानुभक्त

Link copied successfully