हात–हातमा भत्ताले ज्येष्ठ नागरिक दंग

फाल्गुन १७, २०८१

लक्ष्मी गौतम

Elderly citizens are shocked by hand-to-hand allowances

पाँचथर — घरनजिकै रहेको वडा कार्यालयबाट जनप्रतिनिधिबाट सामाजिक सुरक्षा भत्ता बुझेपछि तुलाहाङमा लिम्बू हर्षले गद्‍गद भइन् ।

‘अघिल्लो वर्षसम्म भत्ता बुझ्न गोपेटार बजारसम्म जानु पर्थ्यो, कहिले गाडी नपाइने, बैंकमा पुगेपछि लाइन बस्नुपर्ने, पालो पर्खिंदा जाडोले सताउने, कहिले काहीँ त रात परेर उतै बास बस्नु पर्थ्यो,’ उनले भनिन्, ‘यसपटक घरछेउमै ल्याएर दिनुभयो, धेरै धेरै धन्यवाद । हाम्रो आशिस पनि उनैलाई लागोस् ।’

भत्ता बुझ्नासाथ स्थानीय रामप्रसाद तिम्सिनाको पनि अनुहार उज्यालियो । गाउँपालिका अध्यक्षको हातबाट तीन महिनाको सामाजिक सुरक्षा भत्ताबापत नगदै १२ हजार रुपैयाँ बुझेलगत्तै वडा कर्मचारीको हातबाट ज्येष्ठ नागरिक परिचय–पत्र र राष्ट्रिय परिचय–पत्र बुझे । त्यसपछि स्वास्थ्य परीक्षण कक्षमा गएर परीक्षण गराएर खुशी हुँदै बाहिरिए ।

‘भत्तासँगै कागजपत्र र दबाई पनि पाएको छु, यसपटक धेरै सजिलो भयो,’ उनले भने । ७ वटा वडा रहेको हिलिहाङ गाउँपालिकामा एउटा मात्रै बैंक छ । जहाँ पुग्न वडा नम्बर ५, ६, ७, १, र २ का बासिन्दालाई टाढा पर्छ । अपाङ्गता भएका ज्येष्ठ नागरिक, बिरामी र अशक्तले बैंक जान झन्झटिलो हुन्थ्यो । 

नागरिकले पटक–पटक गुनासो गरेपछि गाउँपालिकाले यस आर्थिक वर्षदेखि सबै वडा कार्यालयहरूमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर भत्तासहित राष्ट्रिय परिचय–पत्र, अपाङ्गता परिचय–पत्र, स्वास्थ्य परीक्षण र औषधि उपचारसहितका सेवा उपलब्ध गराउन थालेको हो ।

बडा कार्यालयमै सञ्चालन गरिएको शिविरमा सेवा लिएका तुलाहाङमा र रामप्रसाद प्रतिनिधि पात्र मात्रै हुन् ।

हिलिहाङ गाउँपालिकाले फागुन १ देखि १६ गतेसम्म शिविर सम्पन्न गरेको थियो । सबै वडा कार्यालयमार्फत चलाइएका शिविरमा ९ सय ३७ जनाले सामाजिक सुरक्षा भत्ता, ९ सय ८२ जनाले स्वास्थ्य परीक्षण र औषधि उपचार, ३ सय ८३ जनाले राष्ट्रिय परिचय–पत्र, ३ जनाले अपाङ्गता परिचय–पत्र, ६४ जनाले ज्येष्ठ नागरिक परिचय–पत्र र ७ जनाले अपाङ्ता सहायक सामग्री प्राप्त गरेका छन् ।

घुम्ती शिविरका क्रममा वडा कार्यालय आइपुगेका सबै नागरिकको सुगर, प्रेसर र दमसहित नियमित औषधि सेवन गर्ने प्रकृतिका बिरामीको समेत पहिचान भएकाले उनीहरूका लागि नियमित औषधि वितरणको योजना निर्माणमा सहयोग पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले बताए ।

उनका अनुसार यो गाउँपालिकामा ४० वर्षमाथिका प्रायः नागरिकमा उच्च रक्तचाप र मधुमेहको समस्या धेरै देखिएको छ ।

विशेष गरी बृद्धावस्थामा पुगेका, अपाङ्गता भएका, अशक्त र सुगर–प्रेसर आदि समस्या भएका बिरामीले सेवा लिन पालिका केन्द्र, सदरमुकाम फिदिम वा गोपेटार बजार पुग्न झन्झटिलो भएको गुनासो गर्न थालेपछि एकीकृत घुम्ती शिविरबाट सेवा आरम्भ गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।

यो गाउँपालिकाले चालु आर्थिक वर्षका पहिलो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता मात्रै वडाबाट वितरण गरेको थियो । सेवाग्राहीको आवश्यकता र माग अत्यधिक भएपछि दोस्रो त्रैमासिकदेखि एकीकृत घुम्ती शिविर चलाउन थालेको हो । हिलिहाङले अब यो कार्यक्रमलाई निरन्तरता दिने अधिकारी बताँउछन् ।

यस गाउँपालिकाका सबै वडा कार्यालयमा आयोजना भएका एकीकृत घुम्ती शिविरमा लक्षित वर्गका सेवाग्राहीको उपस्थिति उत्साहजनक थियो । वडा कार्यालयमै शिविर सञ्चालन गर्दा यसअघि गाउँपालिकासम्म गएर सेवा लिन नसकेका नागरिकले राहत महसुस गरेका छन् ।

‘घर–टोलमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा विशेषतः अपाङ्गता भएका नागरिकलाई राहत भयो, राष्ट्रिय परिचय पत्र र अपाङ्गता परिचय–पत्र पनि शिविरबाटै उपलब्ध गराँउदा विशेष लक्षित वर्गका नागरिकले लाभ पाए,’ उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईंले भनिन् ।

पछिल्लो पटक चलेका शिविरबाट ३ हजारभन्दा धेरै नागरिकले लाभ लिएको उनको भनाइ छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully