धनकुटामा ट्रक र सरकारी गाडी जुध्दा दुई यात्रु घाइते

फाल्गुन १५, २०८१

रमेशचन्द्र अधिकारी

Two passengers were injured in a collision between a truck and a government vehicle in Dhankuta

धनकुटा — कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत धनकुटा नगरपालिका-९ रुद्रबारीमा बिहीबार दिउँसो ट्रकले सरकारी गाडीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

तेह्रथुमबाट विराटनगरतर्फ जाँदै गरेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइको बा १ झ ६६२४ नम्बरको गाडीलाई विपरीत दिशाबाट धनकुटातर्फ गइरहेको प्रदेश १–०२ ००२ ख ०४६० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा धनकुटा-१० का ३३ वर्षीया कल्पना लुइँटेल पौडेल र उनका ३ वर्षीय छोरा हेमन्त पौडेल घाइते भएका छन् । कल्पनाको टाउको र हेमन्तको नाकमा चोट लागेको छ । घाइते दुवै जनालाई विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारका लागि लगिएको छ । 

ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिकाका विनोद राईलाई प्रहरी चौकी मूलघाटले नियन्त्रणमा लिएको छ । दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका आधारमा ट्रक चालकले मादक पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully