विद्यार्थी घर पुर्‍याएर फर्किएको बोलेरो दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते 

फाल्गुन १५, २०८१

लक्ष्मी गौतम

Bolero carrying students home crashes: One dead, two injured

पाँचथर —  पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ अमरपुर नजिक दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले योगीलाई मृत घोषणा गरेका थिए । 

योगीको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । दुर्घटनामा हिलिहाङ–१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते भएका छन ।

उनीहरुमध्ये तामाङको अवस्था गम्भीर रहेकाले विर्तामोड स्थित बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बोलेरोका चालक १९ वर्षीय समिर खातीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बोलेरो अनियन्त्रित भएर सडकभन्दा एकसय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक कौशलकुमार बुडाथोकीले जनाए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully