इलामको माईमा भ्यान दुर्घटना हुँदा २५ जना घाइते

फाल्गुन १५, २०८१

लक्ष्मी गौतम

25 injured in van accident at Mai in Ilam

पाँचथर — इलामको माई नगरपालिकामा भ्यान दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ ।

महमाईदेखि दानाबारीतर्फ नेपाल मगर संघले मगर दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमका लागि दानाबारी जाँदै गरेको प्रदेश १–०२–००२च ४१९२ नम्बरको भ्यान माई– १ पाल्टारस्थित माईखोला पुल नजिक पल्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार भ्यान दिउँसो साढे एक बजे पल्टिएको हो । क्षमताभन्दा धेरै मानिस बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको छ । उनीहरु सबै माई–७ का स्थानीय रहेको बुझिएको छ ।

घाइते २५ मध्ये २४ जनालाई माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विर्तामोडका सुविधा सम्पन्न अस्पतालमा पठाइएको छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully