सेनाले बनायो फालेलुङमा हेलिप्याड

फाल्गुन १४, २०८१

लक्ष्मी गौतम

The army built a helipad at Phalelung

पाँचथर — फालेलुङ गाउँपालिका ६ बरभञ्ज्याङमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले हेलिप्याड बनाएर स्थानीयलाई हस्तान्तरण गरेको छ । यसअघि यो गाउँपालिकामा एउटा पनि हेलिप्याड थिएन ।

विपद् तथा आपतकालीन समयमा उद्धारसँगै प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट राहत सामग्री ढुवानी गर्नका साथै नागरिक–सैनिक सम्वन्धलाई मजबुद बनाउन हेलिप्याड निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिएको गणपति निरजप्रताप राणाले जानकारी दिए ।

फालेलुङ गाउँपालिका बाढी–पहिरो र आगलागी लगायतका विपदजन्य घट्नाको जोखिमयुक्त सूचीमा पर्छ । यसैबीच स्थानीय निकाय र फालेलुङकै नागरिकको अनुरोधमा नाइट ल्यान्डिङ सुविधा सहित एमआई हेलिकोप्टर अवतरण गर्न मिल्ने गरी हेलिप्याड निर्माण गरिएको राणाको भनाइ छ ।

हेलिप्याड निर्माण भएसॅगै अबदेखि विपदमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिक, प्रसव पीडाको जोखिमबाट हुने सम्भावित क्षति न्यूनीकरणसँगै राहत उद्धारमा सहयोग पुग्ने विश्वास फालेलुङ ६ का वडाध्यक्ष अमरवीर राईले व्यक्त गरे ।

नवनिर्मित हेलिप्याड महाशिवरात्री पर्व तथा ‘सैनिक दिवस’को सन्दर्भ पारेर मंगलबार गणपति राणाले वडाध्यक्ष राईलाई हस्तान्तरण गरे । हेलिप्याड निर्माण गर्न रणशेर गणबाट खटेका १४ जना सैनिकले निरन्तर ११ दिन श्रमदान गरेका थिए ।

‘भविष्यमा आइपर्ने विपद, स्वास्थ्य सम्वन्धि जटिलता,राष्ट्रपति हवाइ उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति र सुत्केरी महिलाको हवाइ साधनबाट उद्धारसँगै राहत सामग्री ढुवानीमा सहजता ल्याउन हेलिप्याड निर्माण गरिएको हो,’ गणपति राणाले भने ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully