पाँचथर — इलाम नगरपालिका–४ को जस्बीरे चिया उद्योगमा मंगलबार भएको आगलाीमा आठ करोड बराबरको क्षति भएको छ ।
आगोले चार करोड रुपैयाँको अर्गानिक अर्थोडक्स तयारी चिया मात्रै जलाएको छ । चार करोड बढिको सामग्री र भौतिक संरचना जलेको सञ्चालक गृष्म सुब्बाले जानकारी दिए । उनका अनुसार उद्योगमा राति ९ बजेतिर आगो सल्केको थियो । विद्युत सर्ट भएर आगलागी भएको सुब्बाको भनाइ छ ।
यो कम्पनीमा उत्पादन र प्रशोधन भएको अर्गानिक चिया युरोप निर्यात हुन्थ्यो । यसपटक निर्यातका लागि उद्योगमा भण्डारण गरेर राखेको चियापत्तिसँगै प्रशोधन गर्ने मेसिन, फर्निचर र कम्युटरसहित साना ठूला औजार र यन्त्र जलेर खरानी हुँदा ८ करोड बढी क्षति भएको सञ्चालकहरुले बताएका छन् ।आगो निभाउने क्रममा सञ्चालक मध्येका एक शरद शुब्बा घाइते भएका छन् । शरीरका यत्रतत्र भागमा आगोले पोलेका उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
आगो निभाउन करिब सात किलोमिटरको इलाम बजार र देउमाई नगरपालिकाबाट वारुणयन्त्र घटनास्थल पुगेका थिए । समयमै खबर गरिए पनि बाटो साँघुरो भएका कारण ती वारुणयन्त्रलाई घटनास्थल पुग्न समय लागेको थियो ।
राति ९ बजे सुरु भएको आगलागी बिहान साढे तीन बजे मात्रै नियन्त्रणमा लिइएको स्थानीय जयकुमार राईले जानकारी दिए ।
