केवलकार विवाद : फुङ्लिङ र काफ्लेपाटीमा अनिश्चितकालीन निषेधाज्ञा

फाल्गुन ११, २०८१

आनन्द गौतम

Kevalkar dispute: Indefinite injunction on Fungling and Kaflepati

ताप्लेजुङ — केबलकार सम्बन्धी विवाद बढ्दै जाँदा ताप्लेजुङ प्रशासनले सदरमुकाम फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी निषेधाज्ञामा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, घेराउ गर्न नपाउने गरी उल्लेख छ । 

सदरमुकामको पूर्वतर्फ फुङ्लिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङ्लिङ नगरपालिका ७ घोडेचौर काफ्लेपाटी, उत्तरमा फुङ्लिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङ्लिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ । 

यस्तै काफ्लेपार्टी क्षेत्रमा पूर्वतर्फ पर्यटन प्रहरी कार्यालयको एक सय मिटर क्षेत्र, पश्चिममा डढेले इलाका, उत्तरमा केबलकार शव स्टेशन, पानीको मुहान इलाकाको एक सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ । 

सदरमुकाम फुङ्लिङमा शनिबार बेलुका प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएको थियो । आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानको घोपा पुर्‍याइएको र ९ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलन समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए । 

यता प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूह काफ्लेपार्टी क्षेत्रबाट हिजो दिउँसो पदयात्रा गर्दै र गाडीमा सदरमुकाम आएका थिए । 

सदरमुकाम आएपछि उनीहरूले नारा जुलुस गर्नुका साथै राँके जुलुस प्रदर्शन गरे । प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीलाई लखेटेको र आगोको लप्काहरू घरमा फालेको देखिन्छ । यो झडपमा ९ जना प्रहरी घाइते भएका थिए । 

यसपछि प्रहरीले धरपकड गर्ने क्रममा आन्दोलनकारीतर्फ ठूलो संख्यामा घाइते भएको उल्लेख छ । प्रहरीले एक दर्जन बढीलाई पक्राउ समेत गरेको छ । तर प्रशासनले संख्या भने खुलाएको छैन ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully