हिलिहाङलाई पूर्ण खोप सुनिश्चित घोषणा

फाल्गुन ११, २०८१

लक्ष्मी गौतम

Hilihang declared fully vaccinated

पाँचथर — पाँचथरको हिलिहाङ गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । यो गाँउपालिकालाई मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

७ वटा स्थानीय तह रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १ हजार ९ सय ८५ छ । जसमध्ये १५ महिना मुनिका २ सय ५४ र १५ देखि ५९ महिनाभित्रका बालबालिकाको संख्या ७ सय गरी ९ सय ५४ बालबालिकालाई खोपको मात्रा पूरा गरेसॅगै आइतबार यो गाउॅपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइँ, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा र गाउॅपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै गाउॅपालिका अध्यक्ष अधिकारीले खोप अभियानमा खट्ने कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिए । कोशी प्रदेशमा १ सय ३७ वटा स्थानीय तह छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully