विराटनगर — विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका एक व्यक्तिलाई अवैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय नौसाद अन्सारीको साथबाट १०० डलर दरका ८१ वटा नोट बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
शुक्रबार राति ८ बजेतिर यती एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका अन्सारीको कोटको गोजीबाट उक्त रकम फेला परेको थियो। अन्सारीले डलरको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको छ। उनले विदेशबाट आएका साथीलाई नेपाली रुपैयाँ दिएर डलर लिएको बताए पनि कुन बैंकबाट साटेको भन्ने खुलाउन सकेनन्।
केही समयअघिसम्म कतारमा बसोबास गर्दै आएका अन्सारीले अहिले साथीको आफन्त बिरामी भएकाले काठमाडौं जान लागेको बताएका छन्। प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाउने तयारी गरेको छ।
