पाँचथर — नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरमा धर्ना दिएको छ । शिक्षक महासंघमा आबद्व शिक्षक, संस्थाका सदस्य र पदाधिकारीले हातमा कालोपट्टी बाँधेर शुक्रबार कार्यालयमा एक घण्टा धर्ना दिएका हुन् । आन्दोलनरत पक्षले शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख ब्रज भुषण रायमार्फत सरकारसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।
ध्यानाकर्षणपत्रमा नेपाल सरकारले शिक्षक महासंघ, राहत शिक्षक, बाल विकास र विद्यालय कर्मचारी सॅग गत असोज महिनामा गरेको २२ बुँदे सहमति कार्यान्वयन गर्न भनिएको छ ।
सरकारले नयाँ शिक्षा ऐन ल्याउन अध्यादेश जारी गरेकोमा असन्तुष्टि जनाउँदै आएको महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने, पुरानो शिक्षा ऐनअनुसार नियुक्त भएका शिक्षकहरुलाई परै पेन्सन दिनुपर्ने, विद्यालयका कर्मचारी र बालविकास शिक्षकहरुलाई दरबन्दी कायम गरी स्थायी गर्ने प्रक्रिया थाल्नुपर्ने, शिक्षकसरह सेवा सुविधा दिनुपर्ने लगायतका माग राख्दै आएको छ ।
यस्तै शिक्षक बढुवा हरेक १० वर्षमा गरी योग्यता पुगेका शिक्षकको तहगत बढुवा गर्नुपर्ने, ग्रेड समान तहका निजामती कर्मचारीसरह मिलान गर्नुपर्ने र द्वन्द्वपीडित शिक्षकको टुटेको सेवा अवधि गणना गर्नुपर्ने माग पनि महासंघको छ ।
